हो,
म यस्तो रूख भएँ
जहाँ
यौटै रूखभित्र
थरीथरीका उपरूखहरू रहे
झ्याम्म परेको चाहिए झ्याम्मै रहे
सिख्रो चाहिए सिख्रै भए
आँपको रूख पनि यहिँ छ
स्याउको चाहिए त्यसकै छ
सालको पनि यहिँ छ
सबैथरीका रूख
मेरै शरीरमा छ
मेरो टाउको गाला
छाती ढाड खुट्टा
सबैतिर जोडि मिलाउँदा
ती सबै खाले रूख यहिँ छ
झाडी यहिँ छ
खोपिल्टो टोड्को जे जे चाहिन्छ नि!
ती सबै यहिँ छ
दुला, प्वाल, चर
कुना, काप्चा जे जे चाहिन्छ
ती सब यहिँ छ
चरा! थरीथरीका चरा!
रूखमा बस्नेदेखि
भुइँमा बस्ने सबै
प्रजातिका जीव!
आँखाले देख्नेदेखि
नदेखिनेसम्मका, सबै सबै
किरा, फट्याङ्ग्रा
ब्याक्टेरिया, अमिबा
उड्ने, हिड्ने, घर्सने!
तर्सने !
धिर, अधिर
गुँड गएका!
सुँड भएका!
सबै सबै यहिँ छन्
यिनीहरू भोकाउँछन्
तिर्खाउँछन्
च्याँ!चु!क्याँ !कुँ गर्छन्
फ्वाँ! फुँ !पनि खूबै गर्छन्
लर्न पनि खोज्छन्
सिमौरी खेल्छन्
सिङ हुनेले सिङ्
नङ्ग्रा हुनेले नङ्ग्रा
ठुँढ हुनेले ठुँढ
सुँढ हुनेले सुँढ
आ-आफ्ना हतियारमा
यिनीहरूले पाइन लाउँछन्
धार निकाल्छन्!
ती साराका सारा हतियार!
र
तिनका मतियारलाई
म माटो
म पृथ्वी
म चट्टान
म पथ्थर
म खोलानाला
म पहाड पर्वत
म हिमाल
म यी साराको प्रतिनिधि
म रूख!
म झ्याम्म् परेको ठान्दा झ्याम् नै छु
च्याँसे मान्दा च्याँसे नै छु
वा सिख्रो म रूख!
म सबैखाले रूख!
म आकाश,धरती
साराको अंश म
तिनीहरूको प्रतिनिधि म!
बोझले लड्ने संभावना भएको म रूख!
दु:खले लत्रने सम्भावना भएको म
तर,
म लडे पनि
म ढले पनि
म लत्रे पनि
तिमीहरू सारालाई भने मैले
सग्लो राख्न सकूँ
ठाडो राख्न सकूँ
उचा राख्न सकूँ
दु:खबाट मुक्त राख्न सकूँ
म यस्तै रूख हुन सकूँ
म यस्तै रूख भैरहन सकूँ।
यस्तै रूख भैरहन सकूँ-गणेशराज वस्ती कविता

प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%