सुशासनको नारालाई मूल मन्त्र बनाएको सरकारले दुई साता पछि अनिवार्य अवकाशमा जान लागेका अर्काे एक सहसचिवको ‘आँशु पुछिदिएको’ छ । विगतमा महाश्रम शर्मालाई एक दिन, सूर्यप्रसाद आचार्यलाई ३ दिन,शंकरप्रसाद खराल,अर्जुनजङ्ग थापाहरुलाई दुई साता, श्री आचार्य, वीरबहादुर राईलाई २० दिनका लागि सचिव बनाएर पदस्थापनै नभई घर फर्किएका र बाचुन्जेल पेन्सन सुविधा थप्ने प्रवन्ध मिलाइ दिएको छ ।
बिज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुकतिर उड्नु अघिल्लो दिन बसेको क्याविनेट बैठकले मर्यादाक्रममा दोश्रो नम्बरमा रहेका सहसचिवलाई टपक्क टिपेर सचिवमा उकालिदिएका हुन । विगतमा कोही एक दिने त कोही एक घन्टे सचिव भएका उदाहरण छन् । त्यसकारण रामप्रसाद घिमिरेसँग प्रश्न गर्नु जरुरी छैन, प्रश्न सोझिने मन्त्रिपरिषद्तिरै हो । कसैका हकमा जतिसुकै योग्य भए पनि सचिव बढुवा गर्न नचाहने मन्त्रिपरिषद्, कसैका हकमा किन यति धेरै उदार हुन्छ ? मर्यादाक्रम नमिचिएको भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका दिनानाथ मिश्र सचिवमा उक्लिने थिए तर दोस्रो नम्बरमा रहेका घिमिरेलाई टेकेर दुई साताका लागि सचिव बनाउने निर्णय भएको छ । यस अघि साँझ मन्त्रिपरिषद् बैठक डाकेर ६ घण्टाका लागि नेपाल सरकारको सचिव बनाइएको उदाहरण समेत छ ।
बिज्ञापन
अवकाशको ४ दिन अगाडिमात्र उसैगरी शंकरप्रसाद खरेललाई सचिव बनाइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल निकट रहेका उनलाई निर्वाचन आयोगमा लैजाने चाँजो पाँजो मिलाइदैछ । उसैगरी बूढानिलकण्ठ नजिक रहेका अर्जुनजङ्ग थापालाई दशैंको विदाकै मुखमा क्याविनेट डाकेर सचिवमा उकालिएको थियो । १८ दिनका लागि सचिव बनेका उनले कुनै जिम्मेवारी पाएनन्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हाजिर गरेर बिदाइ भए । शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव महाश्रम शर्मा एक दिनका लागि सचिव बनेका थिए । अवकाश हुनुभन्दा एक दिनअघि २२ साउन २०७१ मा सचिवमा बढुवा भएपछि प्रधानमन्त्री कार्यालय पुगेर हाजिर गरेर बिदा भएका थिए । पूर्वसचिव बनेका उनी पुस २०७८ मा राष्ट्रिय परीक्षा बोर्डमा अध्यक्ष नियुक्त भएका थिए ।सूर्य आचार्यलाई अवकाशको तीन दिन अघि मात्र सचिवमा बढुवा गरियो । प्रधानमन्त्री कार्यालयमा एकदिन हाजिर गरेपछि उनी निजामती सेवाबाट बिदा भएका थिए ।
पछिल्लो समयमा विशिष्ट श्रेणीको सचिव पदलाई कति मजाकको र सस्तो बनाइयो भने मन परेका पात्र कोहीलाई चार दिनका लागि त कसैलाई २४ घण्टाका लागि टपक्क टिप्ने र सचिव बनाइदिने । सनक र लहडमा कसैको इच्छा पूर्तिका लागि रातारात दरबन्दी थपेर सचिव बनाइने परिपाटी र विकृतिले अब सचिवजस्तो विशिष्ट पदको गरिमा नै माटोमा मिल्यो भन्छन्,एक बहालवाला प्रशासक । पूर्व प्रशासकहरुका अनुसार पेन्सन सुविधा बढ्ने,अवकाश पछि संवैद्यानिक निकायहरुमा नियुक्ति,परामर्शदाताका रुपमा नियुक्ति खान सहज हुने हुँदा सहसचिवहरुले वरिष्ठता मिचेरै सचिव बनाइदिन पहल गर्ने गरेका छन् ।
बिज्ञापन
मन परेका,नेताका गोजीका प्रशासकका लागि क्याबिनेटबाटै दरबन्दी थपेर ४ दिनका लागि सचिव बनाइदिँदा सचिवको गरिमा र ओज नै रहेन भनेर प्रशासनविद्हरूले कराएपछि तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले ‘फेस सेभिङ’का लागि नै सही, एउटा चतु¥याइँ गरे सचिव दरबन्दी पुनरवलोकन समिति गठन । तर त्यो समिति पनि हात्ती आयो हात्ती आयो फुस्सा भयो । विशिष्ठ श्रेणीको दरबन्दी आवश्यक पर्ने कति हो ? कति सहसचिव बराबर कति जना सचिव बनाइनुपर्ने हो ? सचिव र सहसचिवको अनुपात कति हुनुपर्ने हो ? हाल रहेको अनुपात के कस्तो हो ? मन्त्रालयमा दुई जना सचिव आवश्यक पर्ने हो वा होइन ? तिनलाई कार्यबोझ पुगेको छ वा छैन ? यस्ता विषय अध्ययन गर्नुपर्ने थियो तर अध्ययन गरि बुझाइएका प्रतिवेदन कार्यन्वयनमा जान सकेको छैन ।