विषय प्रवेश
अनौपचारिक सञ्जाल तथा संगठित जालोका आधारमा निर्णय गरी अमुक व्यक्ति र समुहलाई फाइदा हुने काम नीतिगत भ्रष्टाचार हो । यसले सामाजिक,राजनीतिक, प्रशासनिक र संस्थागत रूपमा नकारात्मक प्रभाव पार्ने गर्दछ । खास स्वार्थ समूहलाई फाइदा पुग्ने स्वार्थप्रेरित मनसायले नीतिको आवरणमा गरिने भ्रष्टाचारलाई नीतिगत भ्रष्टाचार मानिन्छ। यो शक्ति, स्रोत र तजबिजको दुरुपयोग हो । नीतिगत भ्रष्टाचारका कारण लोकतन्त्र र सुशासनमाथि अतिक्रमण हुने,सार्वजनिक सेवाप्रवाहको प्रभावकारिता अवरुद्ध हुने, सरकारको संस्थागत क्षमता र स्मृतिमा ह्रास आउने, निर्णयको आधारभूत सिद्धान्तहरु छाँयामा पर्ने अवस्था सिर्जना हुन्छ ।यो अँध्यारो कोठामा गरिने कालो निर्णय हो। नीतिगत निर्णयको आवरणमा निश्चित व्यक्ति र समूहको निहित स्वार्थसिद्ध गर्ने आशयले गरिने सफेद भ्रष्टाचार नीतिगत भ्रष्टाचार हो । नेपालमा राजनीतिक दलका नेता र व्यवसायीको हिमचिम बाक्लो बन्दै गएका कारण नीतिगत भ्रष्टाचारको मात्रा र परिणाम चुलिदै गएको अवस्था छ । राजनीतिक दलका नेता, व्यापारी, उद्योगी, विचौलिया र बैङ्ग तथा वित्तीय संस्थाका लगानीकर्ता सबै एकआपसमा स्वार्थका कारण जोडिएका छन्। त्यसैले, राजनीतिक नेतृत्वले व्यापारिक समूहलाई लाभ दिने निहित उद्देश्यले निर्णय गर्ने परिपाटी फैलिएर गएको अवस्था विधमान छ ।नेपालमा बजेट मार्फत सर्वाधिक धेरै नीतिगत भ्रष्टाचार हुँदै आएको अवस्था विधमान छ । बजेट तथा मन्त्रिपरिषद्का निर्णय मार्फत खास स्वार्थ समूलाई पोस्ने नीतिगत भ्रष्टाचार नेपालको डरलाग्दो रोग हो ।
नीतिगत भ्रष्टाचार
नेपालमा नीतिगत भ्रष्टाचारलाई आधिकारिक रूपमा परिभाषित गरिएको पाइँदैन। नीतिगत निर्णय गर्ने तह वा संयन्त्रबाट हुने निर्णयले भ्रष्टाचारजन्य कार्य हुने वा भएको भ्रष्टाचारलाई सामान्य अर्थमा नीतिगत भ्रष्टाचार भन्न सकिन्छ ।संघीय मन्त्रिपरिषदले गर्ने निर्णयलाई नीतिगत निर्णय मान्दै ती तहबाट भएका निर्णयका आधारमा भएका वा हुने भ्रष्टाचार मात्र नीतिगत भ्रष्टाचार मानिन्छ । कुनै विषयमा नीतिगत निर्णय गर्नुपर्ने आवश्यकता छ, तर सम्बद्ध संयन्त्र वा तहले सो निर्णय नगरेको वा ढिला गरेका कारण सार्वजनिक सम्पत्ति नोक्सान हुन्छ भने, त्यसलाई पनि नीतिगत भ्रष्टाचारको दायराभित्र राख्न सकिन्छ। हामीकहाँ नीति वा कानुन बनाउँदा नै नीतिमा बिभिन्न छिद्रहरु राखेर तिनका आधारमा गरिने भ्रष्टाचार, असल नियतले राखिएका प्रावधानको गलत तरिकाले प्रयोगबाट गरिने भ्रष्टाचार, कुनै विषयमा गर्नुपर्ने निर्णय नगरेर वा ढिलो गरेर हुने भ्रष्टाचार, आफ्नो स्वार्थ गाँसिएको विषयमा आफैं संलग्न भई गरिने निर्णयका आधारमा हुने भ्रष्टाचार, र कानुनले तोकेको तह वा संयन्त्रभन्दा फरक तह वा संयन्त्रले निर्णय गरी गरिने भ्रष्टाचारलाई नीतिगत निर्णयमा आधारित भ्रष्टाचार मान्न सकिन्छ ।नीतिगत निर्णय अधिकारप्राप्त व्यक्तिले अवैधानिक ढंगले लाभ र फाइदाका लागि अधिकारको चरम् दुरुपयोग गरी गर्ने गर्दछ । विना औचित्य,दुराशयपूर्ण, प्रभाव विश्लेषण नगरीकन , अवधारणागत स्पष्टता बेगर , आफू वा आफ्नो समूहलाई फाइदा पुग्ने गरी , अर्थतन्त्रलाई बोझ पर्ने गरी गरिने निर्णय नीतिगत भ्रष्टाचारको आशयअनुरूपका निर्णयका उदाहरण हुन ।
नीति वा कानुन बनाउँदा नै छिद्र राखी तिनको आधारमा गरिने भ्रष्टाचार नीतिगत भ्रष्टाचार हो । नीति वा कानूनमा असल नियतले राखेका प्रावधान गलत तरिकाले प्रयोग गरी गरिने भ्रष्टाचार नीतिगत भ्रष्टाचार हो ।मन्त्रिपरिषद र कुनै विशेष प्रकृतिको संस्थालाई विशेष परिस्थितिमा काम गर्न सजिलो होस् भनेर केही खुकुला प्रावधानसहितको कानुनी व्यवस्था गरिएको हुन्छ। तर त्यस्तो विशेष अधिकार दुरुपयोग गरेर निर्णय गर्ने र कुनै पदाधिकारी वा समूहले फाइदा लिने वा राष्ट्रिय सम्पत्ति दुरुपयोग गर्ने वा गराउने काम पनि नीतिगत भ्रष्टाचारको दायरामा पर्छ। मन्त्रिपरिषदलाई नियमावली, निर्देशिका, कार्यविधि आदि बनाउन सक्ने अधिकार हुन्छ। तर भइरहेको प्रावधानमा आधिकारिक संशोधन नगरी राष्ट्रको सम्पत्ति नोक्सान वा दुरुपयोग हुने गरी भएका विपरीत निर्णय पनि नीतिगत भ्रष्टाचार मानिन्छ। आर्थिक सहयोगका अनेकौं निर्णय यस किसिमका दुरुपयोगका उदाहरण हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान ऐनमा मन्त्रिपरिषदले गरेको नीतिगत निर्णयमा आयोगले अनुसन्धान गर्न नसक्ने प्रावधान राख्नु तर नीतिगत निर्णय के हो भनेर परिभाषा नगर्नु पनि भ्रष्टाचारजन्य कार्य बचाउने एक उदाहरणीय कानुनी छिद्र हो। लोकतान्त्रिक शासन व्यवस्थामा कार्यकारी अधिकार प्रयोग गर्ने प्रमुख संयन्त्र मन्त्रिपरिषद हो। तर यसले गर्ने सबै निर्णय नीतिगत हुँदैनन्।अझ मुख्य विषय त के हुन्छ भने, नीतिगत निर्णयले नै भ्रष्टाचारजन्य कार्य हुन गई सार्वजनिक सम्पत्ति नोक्सान हुन्छ भने त्यसउपर समेत आयोगले अनुसन्धान गर्नसक्ने व्यवस्था कायम गर्नु आवश्यक रहेको छ । त्यसैगरीकुनै विषयमा गर्नुपर्ने निर्णय नगरेर वा ढिलो निर्णय गरेर हुने भ्रष्टाचार समेतलाई नीतिगत भ्रष्टाचारका रुपमा लिइन्छ ।कतिपय विषयका सम्बन्धमा निर्दिष्ट समयभित्र निर्णय हुनुपर्छ। तर सम्बन्धित तहले निर्णय नगरे वा ढिलो गरेमा त्यसले कुनै व्यक्ति वा अमुक समूहलाई फाइदा पुग्छ र देशलाई घाटा हुन जानसक्ने अवस्था सिर्जना हुनसक्छ ।खासगरी कुनै विपदको समयमा, ठूला आयोजनामा आइपरेका समस्या समाधान गर्ने अवस्थामा र कुनै विषय छानबिनको निष्कर्ष कार्यान्वयनमा लैजाने सम्बन्धमा तत्काल वा निश्चित समयभित्रै निर्णय गर्नुपर्ने अवस्था हुन्छ । यस्ता विषयमा समयमा निर्णय नगरिएका कारण राष्ट्रिय सम्पत्तिमा हानी नोक्सानी हुन सक्छ वा कुनै व्यक्ति, समूह वा निर्णय गर्ने जिम्मेवार पदाधिकारीले फाइदा लिन सक्छ ।यस्तो अवस्थाको भ्रष्टाचारलाई पनि नीतिगत भ्रष्टाचारका रुपमा लिइन्छ ।
खासगरी ठूला आयोजनामा काम सकिन लागेका बेला सम्बद्ध निकायले चलखेल गरी काम सकिन नदिने र ढिलाइ हुँदा बढ्ने आयोजनामा खर्च धेरै देखाएर त्यसबाट फाइदा लिनाले ठूलो धनराशी नोक्सान हुने गरेको अवस्था छ । आफ्नो स्वार्थ गाँसिएको विषयमा आफैं संलग्न भई गरिने निर्णयको आधारमा हुने भ्रष्टाचारलाई पनि नीतिगत भ्रष्टाचारका रुपमा लिइन्छ ।आफ्नो स्वार्थ गाँसिएको विषयमा आफैं संलग्न भएर गरिने निर्णय र त्यस्तो निर्णयका आधारमा राष्ट्रिय सम्पत्तिको नोक्सान हुने वा भएमा नीतिगत भ्रष्टाचार मानिन्छ ।यसमा मुख्य दुई किसिमले स्वार्थ गाँसिएको विषय प्रवेश हुन्छ ।पहिलो, कानुन वा नीति बनाउने संयन्त्रमा रहेर आफ्नो स्वार्थसँग सम्बन्धित विषयको निर्णयमा सहभागी भएर सो पदाधिकारी संलग्न रहेको संस्थालाई लाभ पुग्ने र राष्ट्रलाई नोक्सान हुने।दोस्रो, कुनै संस्थामा नियुक्त पदाधिकारीले सो संस्थाको निर्णय तहमा रही आफूसँग सम्बन्धित विषयको निर्णयमा सहभागी भई आफ्नो व्यापार व्यवसायमा हित हुने तर देशका लागि अहित हुने अवस्था आएमा।
संसदमा पेश भएको शिक्षासम्बन्धी विधेयकका सम्बन्धमा हुने निर्णयमा कुनै शैक्षिक संस्था चलाइरहेको वा त्यस्तो संस्थासँग कुनै न कुनै रुपमा संलग्न सांसद सहभागी भए स्वार्थ गाँसिएको मानिन्छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन निर्माणमा बैंकर्स सहभागी हुनु, सहकारीसम्बन्धी विधेयक निर्णयमा सहकारी सञ्चालक आफै सहभागी हुनु,कुनै व्यापारिक वा औद्योगिक संस्थासँग सम्बन्धित व्यक्ति कुनै सार्वजनिक संस्थाको सञ्चालक समिति सदस्य नियुक्त भई आफू संलग्न संस्थाको हितमा निर्णय गर्छ भने त्यस्तो निर्णय पनि स्वार्थ गाँसिएको विषय मानिन्छ ।
नेपालमा अधिकांश कानुन र नीति निर्माणमा स्वार्थ गाँसिएका व्यक्तिको प्रत्यक्ष संलग्नता हुने क्रम बढ्दो छ। त्यस्ता कानुन वा नीतिको मस्यौदा तयारीमै स्वार्थ गाँसिएका व्यक्ति सहभागी भएको अवस्था पाइन्छ । नीति वा कानुन बनाउँदा नै भ्रष्टाचारजन्य कार्य हुनसक्ने प्रावधान राख्ने र तिनैका छिद्रमा पसेर गरिने भ्रष्टाचार यसअन्तर्गत पर्दछ ।नेपालमा यस किसिमको भ्रष्टाचारका अनेकौं उदाहरण छन्।नेपालको संविधानमा अनुचित कार्यको अनुसन्धान अख्तियारको अधिकार क्षेत्रबाट हटाइनु नीतिगत भ्रष्टाचारको ज्वलन्त उदाहरण हो।अनुचित कार्य र भ्रष्टाचारजन्य कार्यको अनुसन्धान एकअर्कामा सम्बन्धित हुन्छन् र यिनिहरु एक अर्काका परिपुरक हुन्। भ्रष्टाचार अनुसन्धान गर्दा अनुचित कार्य गरेको देखिन सक्ने र अनुचित कार्यको अनुसन्धान गर्दा भ्रष्टाचारजन्य कार्य गरेको देखिन सक्ने यथार्थता हामी सामु छर्लङ्क छ ।
नीतिगत भ्रष्टाचार किन हुन्छ ?
हामीकहाँ नीति–कानुन बनाउँदा गहन अध्ययन र अनुसन्धान हुँदैन। जनताको आवश्यकताभन्दा बढी प्राथमिकता स्वार्थ समूहको हितमा जाने गरेको देखिन्छ। यस्तो काममा स्वार्थ समूहको सुझावसम्म लिन सकिन्छ तर उनीहरूको मुख्य भूमिकासहितको संलग्नतामा बनाउनु हुँदैन। तर हामीकहाँ यही प्रवृत्ति बढेकाले त्यस्ता नीति–कानूनमा व्यापक छिद्र रहन्छन् र सोहीअनुसार सरकारी निकायले निर्णय गर्दा राष्ट्रिय सम्पत्ति नोक्सान हुन्छ । शासकीय पद्धतीमा सुशासन कायम गरी जनआकांक्षा परिपूर्ति गर्ने मुख्य दायित्व राजनीतिक नेतृत्वको हो । यसका लागि राजनीतिक दलहरूको सञ्चालन र व्यवस्थापनमा शुद्धता र निष्ठा हुनु आवश्यक हुन्छ । दल सञ्चालनमा पारदर्शिता र उत्तरदायित्व स्पष्ट देखिनु आवश्यक मानिन्छ। तर हाम्रा राजनीतिक दलको आर्थिक पक्ष अत्यन्तै अपारदर्शी रहेको अवस्था विधमान छ ।अधिकांश राजनीतिक नेता वा पदाधिकारी स्वार्थ समूहका घेरामा रहने र तिनको अवाञ्छित क्रियाकलापबाट प्रभावित हुने भएकाले उनीहरूले निर्णय गर्दा स्वार्थ समूहको चाहना र आश्यकता पूरा गर्न ध्यान दिनुपर्ने बाध्यता सिर्जना भएको हुन्छ। त्यस्ता समूहको प्रभावमा परेर गरिने निर्णय विश्वसनीय हुँदैनन् र भ्रष्टाचारजन्य कार्य हुन जान्छ।नेपालमा नीतिगत भ्रष्टाचार बढ्नुमा सार्वजनिक संस्थामा हुने नियुक्ति पनि हो। न्यायाधीश लगायत संवैधानिक निकायका पदाधिकारी, विभिन्न संस्थाका पदाधिकारी नियुक्ति अधिकांश अपारदर्शी हुन्छ। यसरी नियुक्त हुने पदाधिकारीले आफू नियुक्त हुँदाको अदृष्य प्रतिबद्धता पूरा गर्न गलत निर्णय गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ । यस्तो निर्णयले भ्रष्टाचारजन्य कार्य गरेको पाइन्छ।हाम्रो निर्वाचन प्रणालीका कारण पनि नीतिगत निर्णय स्वार्थपरक हुन्छन् र भ्रष्टाचार हुने गरेको भन्ने आमबुझाइ रहेको अवस्था विधमान छ। संसदमा समानुपातिक निर्वाचनतर्फ उम्मेदवार छनोटमा समेत लेनदेन नै मुख्य विषय बनेकाले पनि भ्रष्टाचार बढेको भन्ने आरोप बेलाबेला लाग्ने गरेको छ ।
नेपालमा नीतिगत भ्रष्टाचारको विधमान अवस्था
नेपालमा नीतिगत निर्णयका आधारमा हुने भ्रष्टाचारका विभिन्न स्वरुपहरु देखिएका छन् । विगतदेखिको मूल्य अभिवृद्धि करमा दिन सकिने छुट व्यवस्था, कर फर्छ्यौट आयोगलाई दिइएका असीमित अधिकार जस्ता विषय नीतिगत भ्रष्टाचारलाई सहयोग पु¥याउने केही उदाहरण हुन्। विभिन्न कारणले उठ्न नसकेको कर रकम उठाउन सहजीकरण गर्ने उद्देश्यले निर्माण भएको कानुनका खुकुला प्रावधान गलत प्रयोग गरी आयोगले धेरै नोक्सान गरायो।भूमिसम्बन्धी ऐनको आठौं संशोधनले १० वर्षदेखि बस्दै आएका सबै सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा सार्वजनिक जग्गा वितरण गर्नसक्ने प्रावधानले सार्वजनिक सम्पत्तिको दुरुपयोगमा जुन भयावह स्थिति ल्याउन लाग्दैछ, यो पनि नीतिगत भ्रष्टाचारजन्य कार्य बढवा दिनसक्ने गतिलो उदाहरण हो।
त्यसैगरी २०७५ सालमा नेपाल ट्रष्ट ऐनमा गरिएको संशोधित प्रावधानले त्यस्तै अर्को ठूलो हिनामिना गर्ने बाटो खुलाएको अवस्था छ ।सुरूमा ऐनले निर्धारण गरेका उद्देश्य परिवर्तन, निर्णय गर्ने संरचना र सम्पत्ति परिचालन प्रक्रियामा परिवर्तन गरी कुनै खास संस्था वा समूहले प्राप्त गर्नसक्ने व्यवस्था गरियो। र, सोही अनुरुप चाहेको संस्थालाई दिने निर्णय समेत गरियो।कुनै विशेष प्रकृतिको ऐनमा संशोधन गर्नु प¥यो भने सोही ऐन संशोधन गर्न विधेयक प्रस्तुत गर्नुपर्ने मान्यता विपरीत सो ऐनलाई केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकभित्र घुसाई चोरबाटोबाट संशोधन गरियो।सामान्यतः संविधान वा अन्य कानुनसँग बाझेका केही शब्द वा शब्दावलीमा धेरैवटा ऐनमा एकैपटक संशोधन गर्नुपरे केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा समावेश गरी सुधार गर्न सकिन्छ।
ऐनको मूल उद्देश्य वा सारभूत विषयमै परिवर्तन गर्नुपरे सो ऐन नै संशोधन गर्ने गरी विधेयक पेश गर्नुपर्ने विषयलाई नेपाल कानुन आयोगको प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय भई जारी भएको कानुन तर्जुमा दिग्दर्शन, २०६६ले स्पष्ट गरेको छ।यो मान्यता र प्रक्रिया उल्लंघन गरी नेपाल ट्रष्ट ऐनमा भ्रष्टाचार हुनसक्ने अनेकौं छिद्रहरु राखिएको अवस्था छ ।२०७४ सालमा प्रचलित निर्वाचन आयोग ऐनका केही खुकुला प्रावधानका आधारमा आयुक्तका लागि महँगा गाडीलाई निर्वाचन सामग्रीका रुपमा किनेर भएको राष्ट्रिय सम्पत्ति दुरुपयोगलाई नीतिगत भ्रष्टाचारको रुपमा लिन सकिन्छ। निर्वाचन आयोगले महँगा गाडीलाई निर्वाचन सामग्रीमा समावेश गरेर किन्न चाहेकोमा आयोगका तत्कालीन सचिवले अर्थ मन्त्रालयको सहमति लिनुपर्ने भनेर मन्त्रालय पठाउँछन्। मन्त्रालय सहमति दिन आनाकानी गर्छ। सोही समयमा मन्त्रालयका उच्च पदस्थ विदेश भ्रमणका लागि आयोगको सहमति प्राप्त गर्न प्रयासरत हुन्छन्।अनि मापदण्डविपरीत भए पनि अर्थले निर्वाचन आयोगलाई गाडी किन्ने सहमति दिन्छ र आयोगले अर्थको विदेश भ्रमण गर्ने विषयमा सहमति दिन्छ। यसरी स्वार्थ गाँसिएको विषयमा दुवैतर्फबाट निर्णय हुन्छ र सरकारी सम्पत्ति दुरुपयोग हुन्छ।
वर्तमान नेपालको सबभन्दा ठूलो समस्या भ्रष्टाचार हो। त्यसमा पनि नीतिगत भ्रष्टाचार भयावह अवस्थामा छ ।धेरैले नयाँ संविधान निर्माण र त्यसपछि गठन हुने सरकारले भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्ने आशा गरेका थिए। तर नयाँ संविधान बनाउँदा नै भ्रष्टाचार नियन्त्रणको विषयलाई अवरोध गर्ने प्रावधान राखियो। नयाँ संविधानले विगतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रयोग गर्दै आएको अनुचित कार्यको अनुसन्धान गर्ने अधिकार हटाइदियो।संविधान बनेपछि सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रभावकारिता ल्याउँछ भन्ने आम अपेक्षामा क्रमशः ह्रास आएको अवस्था विधमान छ ।
मेलम्ची खानेपानी आयोजनाको बिगत वर्षको विवादलाई नीतिगत भ्रष्टाचारका रुपमा लिन सकिन्छ।मेलम्चीको निर्माण सकिनै लागेका बेला ठेकदारसँग विवाद भएर कामै छोडेर जानुपर्ने अवस्था सिर्जना भयो। सम्बद्ध निकायले समयमा उचित निर्णय नगर्नु नै यसको मुख्य कारण हो।सो विवादमा मन्त्रीले सचिवलाई र सचिवले मन्त्रीलाई सार्वजनिक रुपमा दोषारोपण गरे। सो सम्बन्धमा कुनै छानबिन भएन। पछि चाहेअनुसारको अर्को ठेकदार छानिएबाट पनि यो तथ्य स्पस्ट हुन्छ।त्यसैगरी केही वर्षअगाडि सुदूर पश्चिमको चमेलिया जलविद्युत आयोजनामा पनि यस्तै भएको थियो। सुरुङमार्गमा केही कमी भएको कारण देखाई संसदको सार्वजनिक लेखा समितिले ठेकदारलाई काम सम्पन्न भइसकेको खण्डको समेत भुक्तानी रोक्न निर्देशन दियो। सो निर्देशन लामो समय यथावत राखियो। यसले गर्दा करिब छ महिनामा सकिने आयोजना अरू डेढ वर्ष लम्बियो र पछि सो सम्बन्धमा ठेकदारको दोष नदेखिएको भनी ठूलो हर्जना तिर्न आयोजना बाध्य भयो।
समयमा निर्णय नगरेका कारणले असर पारिरहेको अर्को उदाहरण हो वर्तमान संविधानअनुसारका संवैधानिक निकायका पदाधिकारीका लागि एक योग्यता उच्च नैतिक चरित्र भएको भन्ने विषय परिभाषा नगर्नु।संवैधानिक परिषदले यस वाक्यांशको आधिकारिक व्याख्या नगरी संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिरहेको छ र कतिपय गलत व्यक्ति समेत सिफारिस भइरहेको आरोप लाग्ने गरेको छ।नीतिमै व्यवस्था गरेर खास समूहलाई पोसिएको एउटा उदाहरण हो, २०६४ पछिका एक दशकसम्म बजेटमा व्यवस्था गरेर मोबाइल, खानेतेल, चिनी, मैदा, कपडा, सोलार लगायत वस्तुको भ्याट फिर्ताको खेल। अर्थात्, उपभोक्ताले तिरेको भ्याट रकमको ६० प्रतिशतसम्म व्यापारीलाई फिर्ता दिइने अभ्यास गरिएको थियो। कतिसम्म भने, मोबाइल फोनको अवैध आयातलाई निरुत्साहित गर्न भन्दै उपभोक्ताले मोबाइल फोन किन्दा तिरेको ६० प्रतिशतसम्म भ्याट रकम उच्च पहुँचवाला मोबाइल फोनका विक्रेताको पोल्टामा हालिदिएको थियो।
यि माथि उल्लेख गरिएका विषयहरु नीतिगत भ्रष्टाचारका केहि प्रतिनिधिमुलक उदाहरण मात्र हुन । यी नीतिगत भ्रष्टाचार हुन् कि हैनन् भन्ने निर्क्योल सम्बन्धित निकायबाट होला नै ।खोज्दै जाने हो भने यस्ता उदाहरणहरुको लामै सूची वन्न जान्छ ।गजवको कुरा के छ भने हाम्रो शासकीय प्रणाली,पद्धति,विधि, संयन्त्र,सोच,शैली, चिन्तन समेत नीतिगत भ्रष्टाचारलाई मलजल गर्ने खालको छ ।
नीतिगत भ्रष्टाचारको प्रभाव
लोकतान्त्रिक पद्धती अवलम्वन गरेका मुलुकहरुमा नीतिगत भ्रष्टाचार अक्षम्य हुन्छ ।नीतिगत भ्रष्टाचारले व्यक्तिगत, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय र मानवीय तहमा प्रतिकूल प्रभाव पार्छ । नीतिगत भ्रष्टाचार मानवता विरुद्धको अपराध हो ।हाम्रो सन्दर्भमा नीतिगत निर्णयका घटनाक्रम र त्यसले सामाजिक जीवन एवं जनमानसमा परेको प्रभावसमेत विश्लेषण गर्दा नीतिगत भ्रष्टाचारबाट न्यायमूलक वितरण प्रणालीमा नकारात्मक असर पर्ने, सरकार र प्रशासनको साख घट्ने, लोकतन्त्र, विधिको शासन, मानव अधिकार, पारदर्शिता, जवाफदेहीता, सदाचार र दक्षता एवं प्रभावकारिता धूमिल हुने, राज्यको व्यय तथा नागरिकको करको प्रभावकारी परिचालन एवं गुणात्मक र सन्तुलित विकासमा बाधा उत्पन्न हुने,समाजमा विकृति र भ्रष्टाचार मौलाउँने, सामाजिक विकासमा अवरुद्ध सिर्जना हुने , राज्यस्रोतको दुरुपयोग भई विकासको गति मन्द हुने, लाभ लिने सीमित समूहहरू नागरिकको नजरमा सदाबहार गिर्ने,आर्थिक अनुशासन कमजोर हुने,समाजमा ‘गिनी–कोअफिसियन्ट बढ्ने ,सामाजिक द्वन्द्व र बिग्रह बढ्ने, शक्तिसंघर्ष र टकराव बढी नैतिकता, इमानदारी, जवाफदेही र वफादारीजस्ता सूचकहरू एवं आचरणगत पक्षमा प्रतिकूल प्रभाव पर्ने, अन्तराष्ट्रियस्तरमा मुलुकको प्रतिष्ठामा आँच आउने ,नीतिगत भ्रष्टाचारजनित कार्यले बहुआयामिक विकासका पक्षमा प्रतिकूल प्रभाव पार्ने गर्दछ ।
नीतिगत भ्रष्टाचार विरुद्ध आगामि कार्यदिशा
देशमा भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य दायित्व सरकारको हो। सरकारको प्रमुख कार्यकारी संयन्त्र प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद हो। मन्त्रिपरिषदले मात्र देशमा हुने भ्रष्टाचार रोक्ने सामथर््य राख्नु पर्दछ ।यदि मन्त्रिपरिषद नै भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा जिम्मेवार रूपमा प्रस्तुत हुँदैन भने त्यस देशमा भ्रष्टाचार प्रमुख समस्याको रूपमा देखिने भयो। तसर्थ अहिले सरकारले ध्यान दिनुपर्ने मुख्य विषय भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धीमा उल्लेख भएका सिद्धान्त,भावना, मुल्य, मान्यता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वार्षिक प्रतिवेदनमा प्रस्ताव गरिएका सुझावका आधारमा नीति, कानून र संस्थागत व्यवस्था गर्नु पर्दछ ।
नीतिलाई सारप्रभावी, राष्ट्रिय प्राथमिकता र हितअनुकूल बनाई नागरिक दायित्व पूरा गर्ने दिशामा परिलक्षित गर्न सक्नुपर्छ ।नीतिगत निर्णय गर्दा निर्णय कसका लागि गरिन्छ ?सामाजिक लागत लाभ र प्रभाव विश्लेषण गरिएको छ छैन?नीतिगत निर्णय गर्दा आमनागरिकको प्रतिक्रियाको आंकलन ,नीतिगत निर्णयले आर्थिक, सामाजिक, राजनीतिक, नैतिक र मानवीय पक्षमा पार्ने प्रभाव,नागरिकमैत्री छ वा छैन ?आर्थिक भार र दिगोपनाको हिसाबले सकारात्मक प्रभावी छ?निर्णय पारदर्शी, जवाफदेहीपूर्ण, नतिजामूलक, न्यायोचित र हितअनुकूल छ ?जस्ता विषयमा ध्यान पु¥याउनुपर्छ ।नीतिगत भ्रष्टाचार सामाजिक दृष्टिले पुर्णरुपमा बहिष्कारयोग्य, नीति सिद्धान्त,मुल्य, मान्यता, मर्म, भावना र अवधारणाको प्रतिकूल कार्य भएकाले नीति निर्णय गर्दा जनभावना,समकालीन परिवेश, आर्थिक, सामाजिक र राजनीतिक अवस्था एवं नागरिक अपेक्षालाई समेत ध्यान दिनु वाञ्छनीय देखिन्छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन ।)




















